ट्रम्पले इरानको ऊर्जा केन्द्रमा आक्रमण थप १० दिन स्थगित, वार्ता जारी रहेको दाबी

ट्रम्पले इरानको ऊर्जा केन्द्रमा आक्रमण थप १० दिन स्थगित, वार्ता जारी रहेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा थप १० दिनसम्म आक्रमण नहुने बताएका छन्। यसअघि सोमबार उनले पाँच दिनको समयसीमा दिएका थिए, जुन शुक्रबार सकिँदै थियो। तर ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथमा इरानको अनुरोधमा उक्त समयसीमा लम्ब्याइएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “इरान सरकारको अनुरोधमा हामीले त्यहाँका ऊर्जा प्लान्टहरूमा केही दिनका लागि आक्रमण स्थगित गरेका छौं। यो सुविधा अप्रिल ११ तारिख राति १० बजेसम्म लागू रहनेछ।”

उनीहरूले इरानसँगको वार्ता पनि सकारात्मक रहेको दाबी गरेका छन्। ट्रम्पका अनुसार, “फेक न्युज मिडियाका दाबीविपरीत हाम्रो वार्ता निकै राम्रो भइरहेको छ।”

तर इरानले भने यसलाई खण्डन गर्दै वार्ता आफ्नै सर्तमा मात्र हुने बताए। यसअघि बिहीबार राति ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकका क्रममा ट्रम्पले इरानबाट प्राप्त एक ‘उपहार’को उल्लेख गरेका थिए। उनले भने, “इरानमा सही व्यक्तिहरूसँग हाम्रो राम्रो संवाद भइरहेको छ, उनीहरूले हामीलाई एउटा उपहार दिएका छन्।”

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार