कर्णाली प्रदेशले १० वर्षे शैक्षिक सुधार योजना तर्जुमा गर्न लाग्यो

कर्णाली प्रदेशले १० वर्षे शैक्षिक सुधार योजना तर्जुमा गर्न लाग्यो

कर्णाली प्रदेशले शिक्षा गुणस्तर सुधारका लागि आगामी १० वर्षे दीर्घकालीन शैक्षिक योजना निर्माण गर्ने तयारी थालेको छ। सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/८३ देखि २०९१/९२ सम्मका लागि योजना तर्जुमा गर्न लागेको हो। यसका लागि मन्त्रालयले गठन गरेको कार्यदलले अन्तिम मसौदा तयार गरिरहेको छ।

शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार, योजना “समृद्ध प्रदेश र सुखी कर्णालीवासीको प्रमुख आधार: गुणस्तरीय शिक्षाका लागि पर्याप्त लगानीमा शैक्षिक पूर्वाधार” भन्ने दूरदृष्टि अनुरूप तयार पारिएको छ। योजना अन्तर्गत ज्ञान, सिप र सकारात्मक सोचयुक्त, उच्च स्तरको दक्ष र प्रतिबद्ध जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसबाट कर्णालीलाई अति कम विकसित प्रदेशबाट विकासोन्मुख प्रदेशमा स्तरोन्नति गराउने अपेक्षा गरिएको छ।

खड्काले थपे, “शिक्षा क्षेत्र योजनाले संवैधानिक मौलिक हकको कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्ने उद्देश्य राखेको छ। उच्च शिक्षाबाट विभिन्न क्षेत्रमा सक्षम नेतृत्वयोग्य मानव संशोधन विकास गरिनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरबाट सिपयुक्त उद्यमशील जनशक्ति तयार पार्नु पनि यसको लक्ष्य हो। सबै नागरिकलाई साक्षरता, निरन्तर शिक्षा र जीवनपर्यन्त सिकाइको अवसर उपलब्ध गराउने व्यवस्था गरिएको छ।”

साथै, शैक्षिक क्षेत्रलाई भय, विभेद र दुव्र्यवहारमुक्त तथा सुरक्षित वातावरण बनाउँदै विद्यार्थीमैत्री र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा क्षेत्रलाई संवैधानिक हकअनुसार गुणस्तरीय तथा जीवनपर्यन्त शिक्षामा रुपान्तरण गर्न योजनाबद्ध खाकामा काम गर्ने उद्देश्य स्पष्ट पार्नुभयो।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार