• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

‘म अचम्मको सांसद, आउनै नपर्ने मान्छे आएँ’

‘म अचम्मको सांसद, आउनै नपर्ने मान्छे आएँ’

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन ले प्रतिनिधिसभामा आफ्नो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष रहने बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले आफू फरक शैली र सोच भएको सांसदका रूपमा आएको उल्लेख गरे।

उनले आफू राजनीतिमा आउन नपर्ने व्यक्ति भए पनि परिस्थितिले यहाँसम्म ल्याएको बताए। अमेरिका अध्ययनपछि २०४९ सालदेखि नेपाल फर्किएर विगत ३३ वर्षदेखि झोला बोकेर पूर्णकालीन समाजसेवामा लागेको उल्लेख गर्दै उनले आफू समाजसेवी नै रहने बताए।

सांसद पुनले आफ्नो भूमिका स्पष्ट पार्दै भने, “मेरो भूमिका पक्ष–विपक्षभन्दा पनि निष्पक्ष हुनेछ।” उनले आफूलाई उम्मेदवार बन्ने कुनै चाहना नभएको तर परिस्थितिका कारण चुनावमा होमिनुपरेको बताए।

यसअघि शिक्षा मन्त्रीका रूपमा चार महिना काम गर्दा उनले शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विकृति देखेको अनुभव सुनाए। ती समस्या समाधानका लागि उनले तीन वटा विधेयक र चार वटा नियमावली ल्याउने प्रयास गरे पनि कामचलाउ सरकारका कारण ती प्रयास सफल हुन नसकेको बताए।

उनले ती विधेयक र नियमावलीको मस्यौदा बालेन्द्र शाह को शिक्षा हेर्ने टिमलाई हस्तान्तरण गरिसकेको जानकारी पनि दिए। साथै, सुधारका प्रयास अवरुद्ध भएपछि मन्त्री पदबाट राजीनामा दिएर चुनाव लडेको उनले बताएका छन्।

सांसद पुनले आफू पारम्परिक राजनीतिभन्दा फरक सोच र कार्यशैलीसहित संसदमा आएको उल्लेख गर्दै निष्पक्ष र सुधारमुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार