कम्बोडियामा अलपत्र ७ नेपालीको उद्धार, अनलाइन ठगीमा लगाइएको खुलासा

कम्बोडियामा अलपत्र ७ नेपालीको उद्धार, अनलाइन ठगीमा लगाइएको खुलासा

काठमाडौं । कम्बोडिया मा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ । नेपाली दूतावास बैंकक ले कम्बोडिया सरकारगैरआवासीय नेपाली संघ सँगको सहकार्यमा उनीहरूलाई आज नेपाल फर्काएको हो ।

दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य ठगीसम्बन्धी गैरकानुनी काममा लगाइएको पाइएको छ ।

दूतावासले अझै केही नेपाली नागरिक कम्बोडियामा अलपत्र अवस्थामा रहेको सूचना प्राप्त भएको जनाउँदै उनीहरूको पहिचान गरी नेपाल फर्काउने प्रयास जारी रहेको उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा संलग्न गराइएको तथा बिनाभिसा वा भिसा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ । त्यस्तै, स्क्यामिङ केन्द्रमा काम लगाइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको भन्दै धेरै गुनासो आएको दूतावासले जनाएको छ ।

नेपाल फर्किन चाहनेहरूका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको जनाएको छ । साथै, वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र जान दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार