• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

जलवायु परिवर्तन आर्थिक तथा सामाजिक संकट: मन्त्री गीता चौधरी

जलवायु परिवर्तन आर्थिक तथा सामाजिक संकट: मन्त्री गीता चौधरी

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गीता चौधरीले जलवायु परिवर्तन अब केवल वातावरणीय समस्या मात्र नभई गम्भीर आर्थिक र सामाजिक संकटका रूपमा देखापरेको बताएकी छन्। उनले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो तथा खडेरीजस्ता समस्या दिनप्रतिदिन बढ्दै जाँदा जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना भइरहेको उल्लेख गरिन्। कम कार्बन उत्सर्जन गर्ने देश भए पनि नेपालले जलवायु परिवर्तनका असर अत्यधिक भोग्नु परिरहेको उनको भनाइ थियो।

मन्त्री चौधरीका अनुसार नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी समयमै पेश गरिसकेको छ, तर यसको प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती बनेको छ। जलवायु संकटको दीगो समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उनले जोड दिइन्। साथै निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमको सक्रिय सहभागिता बिना दीगो समाधान सम्भव नहुने उनको भनाइ छ।

उनले वन तथा जैविक विविधता संरक्षणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको र यसले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिएको पनि बताइन्। वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको बताइन्।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार