काठमाडौं — इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्वलाई “सधैंका लागि अन्त्य गर्ने” उद्देश्यसहित नयाँ शान्ति प्रस्ताव अघि सारेको जनाएको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार यो प्रस्ताव पाकिस्तानमार्फत पठाइएको हो।
बीबीसीका अनुसार अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावमाथि करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानले आफ्नै शर्तसहित नयाँ प्रस्ताव तयार पारेको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला गर्न मंगलबारसम्मको समयसीमा दिएका थिए। सो समयसीमा पूरा हुनुअघि नै इरानले शान्ति सन्देश सार्वजनिक गरेको हो। ट्रम्पले चेतावनी दिएका थिए कि यदि उक्त समुद्री मार्ग खुला नगरिए इरानका विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाइनेछ।
अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भइरहेको पुष्टि गरेका थिए। तर उनले अमेरिकाको १५ बुँदे प्रस्ताव तेहरानले अस्वीकार गरेको बताए। आईआरएनएका अनुसार इरानले दिएको १० बुँदे जवाफमा युद्धविरामको अवधारणा ‘विगतका अनुभव’ को आधारमा अस्वीकार गरिएको छ। यसको सट्टा इरानले आफ्नै शर्तमा दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ।
प्रस्तावित शान्ति सन्देशमा क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमनको सुनिश्चितता, पुनर्निर्माण तथा प्रतिबन्ध हटाउनेजस्ता मागहरू समावेश छन्।
यसअघि फेब्रुअरी २८ मा इरानले परमाणु कार्यक्रम जारी राखेको आरोप लगाउँदै अमेरिका र इजरायलले संयुक्त आक्रमण सुरु गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित शीर्ष नेतृत्व र उनीहरूका परिवारका सदस्यहरू मारिएको दाबी गरिएको छ।
जवाफमा इरानले पनि इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै आक्रमण सुरु गरेको थियो। जारी द्वन्द्वका कारण खाडी क्षेत्रमा असुरक्षा बढेको छ भने स्ट्रेट अफ होर्मुजमा अवरोध हुँदा विश्व बजारमा तेलको मूल्य समेत उच्च बनेको छ।