काठमाडौँमा सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी युनियन/संगठन खारेज गर्ने तयारी गरेको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया, तथा चैत ३० देखि वैशाख ४ सम्म देशभरका कलेजहरूमा स्ववियु इकाइ र जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। त्यसपछि वैशाख ५ गते पूर्व विद्यार्थी नेता र सांसदहरूसँग छलफल, वैशाख ७ देखि ९ गतेसम्म कलेजहरूमा प्रचारप्रसार, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम र हस्ताक्षर सङ्कलन गरिनेछ।
त्यस्तै, वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई र वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। वैशाख १५ गते काठमाडौँ उपत्यकासहित देशभर कापी–कलम सहित प्रदर्शन गर्ने योजना पनि रहेको छ। आन्दोलनरत सङ्गठनहरूले विश्वविद्यालयमा सर्भर तथा डाटा केन्द्र स्थापना, साइबर सुरक्षा नीति निर्माण, र त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। साथै, महँगी नियन्त्रण, पेट्रोलियम मूल्यवृद्धिबाट जनतालाई राहत, र कालापानी, लिपुलेक तथा लिम्पियाधुराबारे सरकारको स्पष्ट धारणा माग गरिएको छ। आन्दोलनमा प्रमुख विद्यार्थी सङ्गठन अनेरास्ववियु लगायतका समूहहरू सहभागी छन्।