पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ। चिकित्सकहरूको पूर्वनिर्धारित तालिका अनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ। डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्नेछ।

यसअघि, नयाँ सरकार गठन भएको भोलिपल्ट नै ‘जेनजी आन्दोलन’ दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए। पक्राउ परेसँगै उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

उनकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २६ भित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो।

अदालतले तोकिएको समयभित्र अनुसन्धान पूरा नभएमा शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो। सोही आदेशअनुसार प्रहरीले ओलीलाई उनकी पत्नीको जिम्मा लगाएर रिहा गरेको थियो। रिहा भए पनि स्वास्थ्य समस्याका कारण उनी अस्पतालमै बसिरहेका थिए, जहाँ आज उनको शल्यक्रिया हुन लागेको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार