सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीनकुमार यादवविरुद्ध सुरु गरिएको आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ। स्वास्थ्य शाखामा कार्यरत कर्मचारी रामशरण यादवमाथि कुटपिट भएको आरोपपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए, जसका कारण नगरपालिकाबाट प्रदान हुने सेवा प्रभावित बनेको थियो। आन्दोलनरत पक्षले नागरिकलाई परेको असहजता तथा जिल्लाको शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरू हाललाई रोक्ने निर्णय गरेको जनाएको छ। यद्यपि, आन्दोलन पूर्ण रूपमा अन्त्य नभएको स्पष्ट पार्दै पीडितले उचित न्याय नपाएसम्म र दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म संघर्ष जारी रहने उनीहरूले बताएका छन्।