काठमाडाैं — हर्मुज स्ट्रेट क्षेत्रमा भारतीय झन्डा रहेको दुई व्यापारिक जहाजमाथि भएको घटनापछि भारतले इरानसँग औपचारिक कूटनीतिक आपत्ति जनाएको छ।
शनिबार हर्मुज क्षेत्रमा दुई भारतीय झन्डा भएका ट्यांकरलाई इरानी जलसेनाले बाटो परिवर्तन गर्न बाध्य पारेको बताइएको छ। घटनाका क्रममा गोलीबारी भएको दाबीसमेत केही निगरानी स्रोतहरूले गरेका छन्। ती जहाजहरू लारक टापु पार गरेपछि गति कम गर्दै यू-टर्न लिएर फर्किएका थिए।
घटनापछि भारतले दिल्लीस्थित इरानी राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर चिन्ता व्यक्त गरेको छ। भारतीय पक्षले व्यापारिक जहाज र चालक दलको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै यस्ता घटनाले क्षेत्रीय सुरक्षामा असर पार्न सक्ने चेतावनी दिएको छ।
यसअघि पनि इरानी सेनाले उक्त क्षेत्रबाट जहाजहरूलाई पछाडि हट्न निर्देशन दिएको रिपोर्ट सार्वजनिक भएको थियो।
भारतले यसअघि इरानले भारतीय मार्गमा जाने जहाजहरूको सुरक्षित आवागमनमा सहयोग गर्दै आएको स्मरण गराउँदै भविष्यमा पनि समुद्री मार्गमा सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।