काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १८.१० अंकले घट्दै २८०७ बिन्दुमा झरेको छ । कारोबार सुरु भएदेखि नै बजार लगातार रातो अंकमा देखिएको थियो भने अघिल्लो दिन पनि नेप्से १३ अंकले घटेको थियो । आज कारोबार रकम भने सामान्य बढेर ५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ५ अर्ब ४३ करोड रुपैयाँ थियो । कुल ४८ कम्पनीको शेयर मूल्य बढ्दा २१५ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन् । समूहगत सूचकमध्ये होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो भने अन्य सबै समूह ओरालो लागेका छन् । बैंकिङ, फाइनान्स, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहका सूचकहरू घटेका छन् । आज पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र एसियन हाइड्रोपावर पनि उल्लेख्य रूपमा उकालो लागेका छन् । यता, दोल्ती पावर ८.७१ प्रतिशत र सोलु हाइड्रोपावर ५.७७ प्रतिशतले घटेका छन् । कारोबारका आधारमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल अगाडि रहेका छन् ।