काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार फागुनको तुलनामा चैत महिनामा झन्डै ८ हजार ८७५ ले वृद्धि भई कुल ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका थिए ।
चैत महिनामा ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिलाले श्रम स्वीकृति पाएका छन् । यसमा पुनः श्रम स्वीकृति लिनेहरू समेत समावेश छन् । नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार ५४५ रहेको छ, जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला रहेका छन् ।
तथ्याङ्कअनुसार चैत महिनामा मात्रै करिब ६२ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । नयाँ जानेभन्दा बिदामा आएर पुनः सोही देश फर्किने श्रमिकको सङ्ख्या बढी देखिएको छ । चैतमा ४१ हजार २७४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गन्तव्यका आधारमा मलेसिया सबैभन्दा अगाडि रहेको छ, जहाँ १८ हजार ६ सय ४९ जना गएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (११ हजार ४ सय ६३), कतार (८ हजार ९ सय ५९) र साउदी अरब (८ हजार ९ सय २०) रहेका छन् । पछिल्लो समय युरोपेली मुलुकतर्फ पनि आकर्षण बढ्दै गएको छ । चैतमा रोमानियाका लागि ४ हजार ४ सय ३८, जापानका लागि १ हजार ६ सय २६ र साइप्रसका लागि १ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन् ।
संस्थागत (म्यानपावर) मार्फत ११ हजार ५ सय ५८ जना गएका छन् भने व्यक्तिगत रूपमा ८ हजार ६ सय ५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । सरकार–सरकार (जी–टु–जी) सम्झौतामार्फत, विशेषगरी दक्षिण कोरियाका लागि, ३३५ जना मात्रै बिदेसिएका छन् ।