• २०८३ बैशाख ११ गते शुक्रवार
  • Preeti To Unicode

भैरहवा नाकामा कडाइ, सुनौली बजारमा नेपाली ग्राहक घटे

भैरहवा नाकामा कडाइ, सुनौली बजारमा नेपाली ग्राहक घटे

काठमाडौँ — भैरहवा भन्सार नाकामा कडाइ गरिएपछि भारतको सीमावर्ती सुनौली बजारमा नेपाली उपभोक्ताको उपस्थिति उल्लेख्य रूपमा घटेको छ । किनमेलका लागि दैनिकजसो भीड लाग्ने उक्त बजार केही दिनयता सुनसान देखिन थालेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनको नाममा ठूलो परिमाणमा सामान ल्याई भन्सार छली गर्ने प्रवृत्ति रोक्न कडाइ गरिएको बताए । उनका अनुसार यसबाट तस्करी घट्नुका साथै राजस्व चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव देखिएको छ ।

सामान्य परिमाणमा घरायसी सामान ल्याउन भने कुनै समस्या नरहेको जनाइएको छ । भन्सार कर्मचारी तथा सुरक्षाकर्मीले व्यावसायिक प्रयोजनका लागि ल्याइने सामानमा मात्रै निगरानी कडा बनाएका छन् ।

सुनौलीस्थित व्यवसायीहरूका अनुसार पहिलेको तुलनामा करिब ७५ प्रतिशतसम्म नेपाली ग्राहक घटेका छन् । सीमा नाकामा कडाइ गरिएपछि स्वदेशी व्यवसायी उत्साहित देखिएका छन् भने भारतीय व्यापारी असन्तुष्ट बनेका छन् ।

भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्राचिन थैवले कडाइले अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने बताउँदै दुवै देशका लागि सकारात्मक भएको उल्लेख गरे । उनले मुख्य नाकामा कडाइ हुँदा खुला सिमानाबाट तस्करी हुन सक्ने भएकाले त्यहाँ पनि निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।

यता, स्थानीय उपभोक्ताले भने कडाइपछि भैरहवा र आसपासका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीमाथि निगरानी र कारबाही हुनुपर्ने बताएका छन् ।

सीमावर्ती क्षेत्रस्थित फरेनी हाटबजारमा समेत नेपाली उपभोक्ताको संख्या घटेको छ । सशस्त्र प्रहरीले सीमामा कडाइलाई निरन्तरता दिइएको र अवस्था सामान्य रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार