काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत रहेका उनले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापक स्वागत गर्न नआएको विषयमा आक्रोश व्यक्त गरेका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना भएको थियो । विवादपछि जारी विज्ञप्तिमा उनले सार्वजनिक भिडियो पूर्ण सन्दर्भसहित नभएको दाबी गर्दै केही अंश मात्र काटछाँट गरी प्रस्तुत गरिएकाले घटनाको वास्तविकता विकृत भएको बताएका छन् । साथै, सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने स्वीकार गर्दै उनले असहज परिस्थिति सिर्जना भएकोमा खेद प्रकट गरेका छन् । यसअघि सार्वजनिक भिडियोमा उनले विद्यालयका प्रधानाध्यापकलाई ‘म आउँदैछु भनेपछि तपाईं निस्किनुपर्छ’ भन्दै थर्काएको सुन्न सकिन्छ ।