रास्वपाका सभापति रवि लामिछानेद्वारा सांसदलाई १२ बुँदे निर्देशन

रास्वपाका सभापति रवि लामिछानेद्वारा सांसदलाई १२ बुँदे निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन जारी गरेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित बैठकमार्फत उनले समसामयिक राजनीतिक विषय, सांसदको भूमिका र सरकारको प्राथमिकताबारे स्पष्ट मार्गनिर्देशन दिएका हुन्।

लामिछानेले सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयका सचिवसहित नियमित छलफल गरिने जानकारी दिँदै सत्ता परिवर्तनसँगै सार्वजनिक सेवाको संस्कार परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले “मालिक बन्न खोज्नेका लागि रास्वपा नभएको, सेवक र सहजकर्ताका लागि मात्र पार्टी रहेको” स्पष्ट पार्दै जनमुखी काममा केन्द्रित हुन निर्देशन दिए।

त्यस्तै, ‘हेल्लो सरकार’लाई अझ प्रभावकारी बनाउने, गुनासो व्यवस्थापन प्रणालीलाई ट्र्याक गर्न सकिने बनाउने र सांसदको मुख्य भूमिका कानुन निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए। अन्तर्जातीय विवाहका नाममा भइरहेका विभेद र दुर्घटना रोक्न पहल गर्नुपर्ने उल्लेख गर्दै घटनास्थलमा सांसदले मर्यादा नबिर्सन पनि सचेत गराए।

पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण बजार मूल्यमा परेको प्रभावबारे सरकार जानकार रहेको बताउँदै उनले यसतर्फ गम्भीर रूपमा काम भइरहेको जानकारी दिए। साथै, संगठन निर्माणमा सक्रिय हुन र सबै तहमा समन्वय बढाउन उनले आग्रह गरे।

सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि विशेष आयोग गठन गर्ने तयारी रहेको बताए। कसैलाई घरबारविहीन नबनाइने र गास, बास, कपास तथा रोजगारीको जिम्मेवारी सरकारले लिने उनले प्रतिबद्धता जनाए। यस विषयमा अनावश्यक राजनीतिकरण नगर्न पनि उनले चेतावनी दिए।

अध्यादेशबारे धारणा राख्दै उनले विगतका गलत नियुक्ति र दलीयकरण सच्याउन आवश्यक सुधारका लागि वर्तमान कदम चालिएको दाबी गरे। संवैधानिक आयोगहरूमा रिक्त पदका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले जनअपेक्षा पूरा गर्न सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको बताए।

लामिछानेले नियमित छलफल जारी रहने र कुनै समस्या वा अन्योल भए आफू सधैँ सहजीकरणका लागि उपलब्ध रहने उल्लेख गर्दै सांसदहरूलाई लिखित रूपमा पनि धारणा राख्न आग्रह गरे। साथै, पार्टीमा अवसर चाहनेले पहिले संगठनमा खटिएर आफूलाई प्रमाणित गर्नुपर्ने उनले स्पष्ट पारे।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार