पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले सुकुमबासी समस्या समाधानका लागि महानगर गम्भीर रूपमा लागिरहेको बताउँदै आन्दोलन नगरी सहयोग गर्न आग्रह गरेका छन् । विना विकल्प हटाउने तयारी भएको भन्दै सुकुमबासीहरूले सङ्घर्षका कार्यक्रम घोषणा गरेका बेला उनले बस्तीलाई मानव ढालका रूपमा प्रयोग नगर्न र अनावश्यक उत्तेजनामा नआउन अपिल गरे । महानगरले पहिलो चरणअन्तर्गत निस्सा (अस्थायी बसोबास प्रमाण) वितरण गरिसकेको र निस्सा पाएका नागरिकको यथार्थ छानबिन भइरहेको उनले बताए । निस्सा प्राप्त नागरिकलाई जोखिमरहित र सार्वजनिक परियोजनामा नपर्ने स्थानमा भए सोही ठाउँमा व्यवस्थापन गरिने तथा जोखिमपूर्ण वा आयोजना आवश्यक क्षेत्रमा परे वैकल्पिक स्थानमा स्थानान्तरण गरिने महानगरको योजना छ । अतिक्रमित क्षेत्र खाली गराउने सूचनापछि समस्या जटिल बनाउने प्रयास भइरहेको आरोप लगाउँदै मेयर आचार्यले सुकुमबासीहरूलाई आन्दोलनको सट्टा सहयोग तथा सहजीकरण समिति गठन गरी आफ्ना माग राख्न सुझाव दिएका छन् । साथै, महानगरले कानुनसम्मत रूपमा वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनमा सहयोग गर्न सबै पक्षलाई आह्वान गरेको छ भने सुकुमबासीहरूले आज प्रधानमन्त्री र मेयरलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।