• २०८३ बैशाख २९ गते मङ्गलवार
  • Preeti To Unicode

रवि लामिछानेको आपत्ति: ‘मेरो गर्दन त्यहीँ छ, हतियार चलाइदिनुस्’ भन्दै प्रधानन्यायाधीशको अभिव्यक्तिमा कडा प्रतिक्रिया

रवि लामिछानेको आपत्ति: ‘मेरो गर्दन त्यहीँ छ, हतियार चलाइदिनुस्’ भन्दै प्रधानन्यायाधीशको अभिव्यक्तिमा कडा प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै चुनौति दिएका छन् ।

पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया र त्यसबारे उठाइएका टिकाटिप्पणीको जवाफ दिएका हुन् । उनले सिफारिस परम्पराभन्दा बाहिर गएको वा असंवैधानिक भएको भनाइप्रति प्रश्न उठाउँदै ६ जनाको साटो वरिष्ठतम् व्यक्ति मात्र सिफारिस हुने व्यवस्था भए संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने तर्क गरेका छन् ।

उनले सिफारिस प्रक्रियामा आफ्नो पार्टीका नेताहरूको भूमिका रहेको उल्लेख गर्दै परम्परा भत्काइयो भन्ने टिप्पणीप्रति प्रतिक्रिया जनाए । यदि त्यही परम्परा कायम रहेको भए अहिले पनि भागबन्डाको बहस चलिरहेको हुने उनको भनाइ थियो ।

त्यसै क्रममा उनले आलोचकहरूलाई लक्षित गर्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् । “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्दन त्यहीँ छ, हतियार चलाइदिनुस्,” उनले भने । साथै उनले अदालतप्रति टिप्पणी गर्दै न्याय प्रक्रिया कागजमा मात्र सीमित नहुनु पर्ने र नागरिकले वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार