धनकुटा । गाउँदेखि सहरसम्म कोल्ड ड्रिङ्क्सको प्रयोग तीव्र रूपमा बढिरहेका बेला धनकुटाका युवा उद्यमी राजु घिमिरेले परम्परागत नेपाली पेय पदार्थ महीलाई आधुनिक ब्रान्डका रूपमा स्थापित गर्ने अभियान थालेका छन्। धनकुटा नगरपालिका–२ निवासी घिमिरेले हिलेस्थित सिंहदेवी डेरी उद्योगमार्फत ‘दुर्गा मही’ उत्पादन गर्दै स्थानीय खाद्य संस्कृतिलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका हुन्। २०७५ सालदेखि डेरी व्यवसाय सञ्चालन गर्दै आएका उनले सुरुमा नैनी, पनिर र छुर्पी उत्पादन गरे पनि बढ्दो प्रतिस्पर्धा र घट्दो बजारका कारण नयाँ विकल्प खोज्दै २०८० सालदेखि ‘दुर्गा मही’ उत्पादन सुरु गरेका थिए। आकर्षक प्याकेजिङ, गुणस्तर र स्वादमा ध्यान दिएर बजारमा ल्याइएको महीले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भएको छ।
हाल उद्योगमा दैनिक ३०० लिटरभन्दा बढी मही उत्पादन भइरहेको छ भने विवाह, भोज, मेला तथा विभिन्न सामाजिक कार्यक्रममा यसको माग बढ्दो छ। हिले, पाख्रिवास, सिधुवा लगायतका क्षेत्रमा ‘दुर्गा मही’ लोकप्रिय बन्दै गएको छ। स्थानीय उपभोक्ताहरूले पनि कोल्ड ड्रिङ्क्सको सट्टा प्राकृतिक र स्वास्थ्यवर्द्धक पेयका रूपमा मही रोज्न थालेका छन्। खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार उत्पादन हुने मही करिब एक सातासम्म प्रयोग गर्न मिल्ने घिमिरे बताउँछन्। उनका अनुसार सफाइ, गुणस्तर र स्वादमा कुनै सम्झौता नगरी उत्पादन गरिएकाले उपभोक्ताको विश्वास बढ्दै गएको छ। स्थानीय उत्पादनलाई समयअनुकूल ब्रान्डिङ र बजार व्यवस्थापन गर्न सके परम्परागत खाद्य सामग्रीले पनि राम्रो बजार पाउन सक्छ भन्ने उदाहरण ‘दुर्गा मही’ ले प्रस्तुत गरेको छ। घिमिरेले विद्यालय, सभा–सम्मेलन तथा सार्वजनिक कार्यक्रममा कोल्ड ड्रिङ्क्सको विकल्पका रूपमा महीजस्ता स्थानीय उत्पादनको प्रयोग बढाउन सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्ने बताएका छन्।