• २०८३ जेष्ठ २१ गते बिहिवार
  • Preeti To Unicode

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपालको पासपोर्टको शक्ति बढ्यो, ९७औं स्थानमा उक्लियो

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपालको पासपोर्टको शक्ति बढ्यो, ९७औं स्थानमा उक्लियो

काठमाडौं । विश्वका नागरिकले भिसाविना वा सहज रूपमा कति देशमा यात्रा गर्न सक्छन् भन्ने आधारमा तयार गरिने हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ सार्वजनिक भएको छ। नयाँ प्रतिवेदनअनुसार नेपालले गत वर्षको तुलनामा आफ्नो स्थान सुधार गर्दै १०१औं स्थानबाट ९७औं स्थानमा उक्लिएको छ। नेपाल र उत्तर कोरिया दुवै ३५ भिसा–फ्री स्कोरसहित ९७औं स्थानमा रहेका छन्। गत वर्ष नेपाल ३६ देशमा पहुँचसहित १०१औं स्थानमा थियो। यस वर्ष सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ, जसका नागरिकले १९२ देशमा पूर्वभिसाविना यात्रा गर्न सक्छन्। जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) १८७ स्कोरसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् भने स्विडेन १८६ स्कोरसहित तेस्रो स्थानमा रहेको छ। छिमेकी भारत ५७ देशमा भिसाविना पहुँचसहित ७८औं स्थानमा रहँदा चीन ८२ भिसा–फ्री स्कोरका साथ ५६औं स्थानमा पुगेको छ। पाकिस्तान भने ३० स्कोरसहित १००औं स्थानमा रहेको छ। प्रतिवेदनअनुसार गत वर्ष शीर्ष १० बाट बाहिरिएको अमेरिका पुनः १७९ भिसा–फ्री स्कोरसहित आइसल्यान्डसँग संयुक्त रूपमा १०औं स्थानमा फर्किएको छ भने बेलायत १८३ स्कोरसहित छैटौं स्थानमा उक्लिएको छ। विश्वकै कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान २३ भिसा–फ्री स्कोरसहित १०३औं तथा अन्तिम स्थानमा रहेको छ भने सिरिया १०२औं र इराक १०१औं स्थानमा परेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार