विश्व खाद्य स्वच्छता ऐन कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : मन्त्री मेहता

विश्व खाद्य स्वच्छता ऐन कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्य स्वच्छतालाई सुदृढ बनाउन नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्। विश्व खाद्य स्वच्छता दिवसका अवसरमा आइतबार जारी शुभकामना सन्देशमा उनले यस वर्ष ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने मूल नारासहित दिवस मनाइँदै गरेको उल्लेख गर्दै खाद्यजन्य रोगहरू विश्वका लागि गम्भीर जनस्वास्थ्य चुनौती बनेको बताइन्। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष करिब ६० करोड मानिस दूषित खानाका कारण बिरामी पर्ने र ४ लाख २० हजारले ज्यान गुमाउने तथ्य स्मरण गराउँदै उनले खाद्य पदार्थहरू भौतिक, रासायनिक तथा जैविक जोखिमबाट मुक्त हुनु आवश्यक रहेको बताइन्। स्वच्छ खानपानमार्फत जनस्वास्थ्य सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन तथा नीतिगत सुधारका कार्यलाई तीव्रता दिइएको जानकारी दिइन्। उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलामा स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उचित भण्डारण प्रणाली अवलम्बन गर्न आग्रह गरिन्। यस्ता अभ्यासले गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनको विश्वास छ। साथै, खाद्य शृङ्खलामा आबद्ध सबै सरोकारवालालाई स्वच्छ खानपानको महत्त्व आत्मसात् गर्दै आ–आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न उनले शुभकामना व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार