काठमाडौं । फ्रान्सको एभियान शहरमा बुधबार हुने ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा स्विट्जरल्यान्डको जेनेभामा विशाल प्रदर्शन भएको छ। ‘फासीवाद र साम्राज्यवाद’को प्रतिरोध गर्ने उद्देश्यसहित विभिन्न समूह तथा संगठन आबद्ध ‘नो जी–७ गठबन्धन’को नेतृत्वमा आइतबार आयोजित प्रदर्शनमा सहभागीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ लगायतका नारा लगाएका थिए। जेनेभा ताल किनारबाट सुरु भएको प्रदर्शन सुरुमा शान्तिपूर्ण रहे पनि पछि केही विस्फोटका आवाज सुनिनुका साथै कालो धुवाँ देखिएको थियो र एउटा टेस्ला कारमा आगजनी गरिएको थियो। जेनेभा क्यान्टनल प्रहरीले प्रदर्शन क्षेत्र नजिकबाट चक्कु, बञ्चरो, ग्यास क्यानिस्टर र पटाका बरामद गरेको जनाएको छ। प्रदर्शनका कारण सार्वजनिक यातायात सेवा प्रभावित हुँदा केही ट्रलीबस सेवा निलम्बन गरिनुका साथै ट्राम तथा बस रुटहरू परिमार्जन गरिएको थियो। फ्रान्सले वर्तमान अन्तर्राष्ट्रिय अस्थिरताबारे छलफल गर्न जी–७ बैठक आह्वान गरेको जनाएको छ, जसमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युरोपेली संघका नेताहरू सहभागी हुनेछन्। सन् २००३ मा एभियानमा भएको जी–७ सम्मेलनका बेला पनि जेनेभामा ठूला दङ्गा भड्किएका थिए। यस वर्षको सम्मेलनअघि स्विस अधिकारीहरूले करिब ४ हजार सैनिक परिचालन गर्नुका साथै फ्रान्ससँग जोडिएका ३५ सीमाना नाकामध्ये अधिकांश बन्द गर्ने घोषणा गरेका छन्।