काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा शानदार विजयी सुरुवात गर्दै जोर्डनलाई ३–१ ले पराजित गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा बुधबार भएको समूह ‘जे’ अन्तर्गतको खेलमा अष्ट्रियाका रोमानो स्चमिड र मार्को अर्नाटोभिकले एक–एक गोल गर्दा अर्को गोल जोर्डनका याजान अलारबको आत्मघाती गोलबाट प्राप्त भएको थियो । खेलको २०औँ मिनेटमा स्चमिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए भने ५०औँ मिनेटमा अली ओल्वानले बराबरी गोल फर्काएका थिए । तर ७६औँ मिनेटमा अलारबको आत्मघाती गोलले अष्ट्रियालाई पुनः अग्रता दिलायो । त्यसपछि इन्जुरी समयमा पाएको पेनाल्टीलाई अर्नाटोभिकले गोलमा परिणत गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै अष्ट्रियाले ३ अंक जोडेर समूह ‘जे’को दोस्रो स्थान कब्जा गरेको छ भने समान ३ अंक भए पनि गोलअन्तरका आधारमा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । जोर्डन र अल्जेरिया भने अंकविहीन छन् ।