• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

नेपाल–बङ्गलादेश सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सभामुख अर्याल र राजदूत रहमानबीच छलफल

नेपाल–बङ्गलादेश सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सभामुख अर्याल र राजदूत रहमानबीच छलफल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गर्दै नेपाल–बङ्गलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य, व्यापार, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा जलवायु परिवर्तनलगायत विषयमा छलफल गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी सम्मान, विश्वास र सार्वभौमिक समानतामा आधारित रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए। उनले बङ्गलादेशको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै त्यहाँका असल अभ्यासहरू नेपालको विकास यात्राका लागि उपयोगी हुन सक्ने धारणा राखे। खेलकुद, पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरीय सम्पर्कमार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै उनले जलवायु परिवर्तनका साझा चुनौतीहरूको सामना गर्न सहकार्य आवश्यक रहेको बताए। जवाफमा राजदूत रहमानले जलवायु परिवर्तन, प्राकृतिक विपद्, विकास र आर्थिक रूपान्तरणका क्षेत्रमा नेपाल र बङ्गलादेशले समान चुनौती भोगिरहेको उल्लेख गर्दै अनुभव आदानप्रदान तथा साझेदारीलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको जनाउँदै दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई सुदृढ बनाउन दुवै देशले साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार