काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। त्रिविले तोकिएको समयभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको यो प्रक्रियामार्फत बाँकी रकम असुली कार्य पनि निरन्तर जारी रहने जनाइएको छ। त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भए पनि केही प्राध्यापकले यसको दुरुपयोग गरी अध्ययनपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको जनाएको छ। साथै, बिदा सुविधा उपयोग गर्ने सबै शिक्षक–कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको विश्वविद्यालयले स्मरण गराएको छ।