काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)मार्फत मतदान हुँदैछ। बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि राति अबेरसम्म मनोनयन दर्ता भएकाले निर्धारित समयमा मतदान सुरु हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि पदाधिकारीको निर्वाचन गराइने र आजै दुवै निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रास्वपाले गरेको छ। चितवनमा असार ७ गतेदेखि जारी महाधिवेशन प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा लम्बिएको हो। महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि सहभागी छन्। रास्वपाको विधानअनुसार १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।