• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थी आन्दोलनमा, बोर्ड घेराउदेखि माइतीघर प्रदर्शनसम्म

कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थी आन्दोलनमा, बोर्ड घेराउदेखि माइतीघर प्रदर्शनसम्म

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बुधबार भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि र बिहीबार बिहान ११ः३० बजे माइतीघरमा दबाबमूलक प्रदर्शन गर्ने तयारी गरेका छन्। विद्यार्थी रञ्जित कार्कीका अनुसार माइतीघरमा प्रदर्शनका लागि अनुमति लिइसकिएको छ भने ‘पीसफूल प्रोटेस्ट’ समूहले पनि सामाजिक सञ्जालमार्फत परीक्षा नियन्त्रण कार्यालय अगाडि विरोध कार्यक्रम गर्ने जनाएको छ। नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मेहनतअनुसार अंक नआएको, उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको तथा पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्क अत्यधिक महँगो र अव्यावहारिक रहेको गुनासो गरेका छन्। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७११ जना विद्यार्थी ‘नन–ग्रेडेड’ भएका छन् भने ३८ जनाको परीक्षा रद्द गरिएको र दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ। यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि नतिजा त्रुटिपूर्ण र गैरजिम्मेवार ढंगले सार्वजनिक गरिएको भन्दै बोर्डको ध्यानाकर्षण गराएको छ। अध्यक्ष दीपक धामी नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा हतारमा नतिजा प्रकाशन गर्दा कोडिङ र डिकोडिङ प्रक्रियामा लापरबाही भएको आशंका व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार