चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन ढिलाइ हुँदा विद्युतीय मतदान प्रक्रिया थप लम्बिने भएको छ। निर्वाचन आयोगले बिहान ९ बजेदेखि मतदान सुरु हुने जनाएको भए पनि हालसम्म प्रारम्भिक नामावलीसमेत सार्वजनिक गर्न सकेको छैन। आयोगले बिहान साढे १० बजे प्रारम्भिक सूची सार्वजनिक गर्ने जनाएको थियो भने अन्तिम सूची प्रकाशित भएपछि उम्मेदवारको फोटोसहितको विवरण विद्युतीय मतदान मेसिनमा अपलोड गर्नुपर्ने हुन्छ। आयोगका अनुसार करिब ४ सय जनाले उम्मेदवारी दर्ता गरेका छन्, तर यकिन संख्या अझै सार्वजनिक गरिएको छैन। राम लक्ष्मण ई–भोटिङ मेसिनका संस्थापक राम रिमालका अनुसार अन्तिम सूची प्राप्त भएपछि मेसिनमा विवरण अपलोड गर्न ४ देखि ५ घण्टा लाग्नेछ भने एक प्रतिनिधिले मतदान गर्न १५ देखि १८ मिनेट लाग्नेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा भएको ढिलाइका कारण महाधिवेशनको अवधि थप लम्बिने भएको छ। यसअघि मंगलबारसम्म सक्ने भनिएको महाधिवेशन एक दिन बढाइसकिएको छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने त्यसपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान गरिनेछ।