रास्वपाको प्रदेश नीतिमाथि सुदन किरातीको प्रश्न, ‘जनादेश र निर्णय किन मेल खाएन ?’

रास्वपाको प्रदेश नीतिमाथि सुदन किरातीको प्रश्न, ‘जनादेश र निर्णय किन मेल खाएन ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनमा पारित प्रदेश संरचनासम्बन्धी दस्तावेजलाई लिएर श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्वाचनका क्रममा ‘शक्तिशाली प्रदेश’ बनाउने प्रतिबद्धता जनाएर मधेसबाट व्यापक समर्थन प्राप्त गरेको रास्वपाले महाधिवेशनमा भने फरक नीति अघि सारेको बताएका छन्। किरातीका अनुसार सभापति रवि लामिछानेले प्रस्तुत गरेको दस्तावेजमा प्रदेशको पुनर्संरचनाको प्रस्ताव गरिएको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दस्तावेजमा प्रदेशसभाको खारेजीको प्रस्ताव समावेश छ। एउटै विषयमा शीर्ष नेतृत्वबाट फरक–फरक धारणा आउनु गम्भीर वैचारिक अन्योलको संकेत भएको उल्लेख गर्दै उनले निर्वाचनका बेला जनतासमक्ष गरिएको प्रतिबद्धता र प्राप्त जनादेशसँग महाधिवेशनको निर्णय किन मेल खाएन भन्ने प्रश्न गरेका छन्। देशलाई सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिका लागि स्पष्ट लोकतान्त्रिक दृष्टिकोण र विश्वसनीय मार्गचित्र आवश्यक रहेको भन्दै शासन व्यवस्थाजस्तो आधारभूत विषयमा देखिएको अस्पष्टताले देशको भावी दिशा र राजनीतिक स्थिरताप्रति स्वाभाविक चिन्ता उत्पन्न गरेको उनको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार