काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रश्न उठाएको छ। आइतबार संसद् बैठक सुरु हुनासाथ विपक्षी दलहरूले विरोध जनाएपछि समय पाएर बोल्दै कांग्रेस सांसद रेनुका काउचाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत रास्वपाले बालबालिकालाई सदस्य बनाएको आरोप लगाइन्। उनले रास्वपाको सदस्यता सूचीमा १८ वर्षमुनिका ३५ हजार २५७ जना रहेको उल्लेख गर्दै ‘रास्वपा संविधानभन्दा माथि छ ?’ भन्ने प्रश्न गरिन्।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ अनुसार कुनै पनि राजनीतिक दलको सदस्य बन्न नेपाली नागरिक हुनुका साथै १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। तर, चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार पार्टीका कुल ५ लाख २३ हजार ४६५ सदस्यमध्ये ३५ हजार २५७ जना अर्थात् ६.७ प्रतिशत सदस्य १८ वर्षमुनिका रहेको विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि १८ वर्ष नपुगेका व्यक्तिलाई बालबालिका मानेर उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। यही कानुनी प्रावधानको उल्लंघन भएको भन्दै संसद्मा प्रश्न उठे पनि यस विषयमा रास्वपाका नेताहरूले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।