काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिलाई आम नागरिकले निरन्तर मूल्यांकन गरिरहेको भन्दै जनताको मूल्यांकनमा अब्बल बन्न राम्रो कानुन निर्माण, अनुशासित व्यवहार र उत्कृष्ट प्रस्तुति दिन स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले कार्यक्रममा सांसदहरूको न्यून तथा ढिलो उपस्थितिप्रति असन्तुष्टि व्यक्त गरे। नयाँ सांसदहरू संसदीय प्रक्रियामा अभ्यस्त हुन यस्तो अभिमुखीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले तालिमका क्रममा मोबाइलमा धेरै नअल्झिन, आपसमा गफगाफ नगर्न र समयको सदुपयोग गर्दै सिकाइमा केन्द्रित हुन निर्देशन दिए। साथै, दुईदिने अभिमुखीकरणबाट प्राप्त ज्ञानको सकारात्मक प्रभाव आगामी प्रतिनिधिसभा बैठकमा देखिनुपर्ने अपेक्षा व्यक्त गर्दै त्यसको अनुभूति सभामुख, संसद् सचिवालय र सबैभन्दा बढी मतदाताले गर्न पाउने विश्वास व्यक्त गरे।