काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर, हरित र आकर्षक बनाउने उद्देश्यले कोटेश्वर सडकखण्डमा सडक किनारको सजावटलाई तीव्रता दिएको छ। महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ कार्यक्रमअन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले सडकका भित्तामा काठमाडौंका ऐतिहासिक सम्पदाका चित्र कोर्ने, कलात्मक रङ्गले सजाउने तथा सडक छेउमा फूलका बिरुवासहितका गमला राख्ने काम गरिरहेको छ। महानगरका अनुसार यस अभियानले शहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै शहरी वातावरणलाई स्वच्छ र हराभरा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि पहिलो चरणमा सिंहदरबार अगाडिको क्षेत्रमा गमला व्यवस्थापन र सडक सजावटको काम सम्पन्न गरिएको थियो।