भूकम्पको ६ दिनपछि तीन वर्षीय बालकको चमत्कारिक उद्धार, मृतक १,९४३ पुगे

भूकम्पको ६ दिनपछि तीन वर्षीय बालकको चमत्कारिक उद्धार, मृतक १,९४३ पुगे

काराकास । भेनेजुएलामा गएको विनाशकारी भूकम्पको ६ दिनपछि ला गुइरा राज्यको भग्नावशेषबाट तीन वर्षीय बालक क्लिबर मोरनलाई जीवितै उद्धार गरिएको छ। जोर्डनको उद्धार टोलीले बालकलाई सुरक्षित रूपमा बाहिर निकालेपछि उद्धारकर्मीहरूले खुसीयाली मनाएका थिए। विज्ञहरूका अनुसार भूकम्पपछि पहिलो ७२ घण्टाभित्र जीवित उद्धार हुने सम्भावना बढी हुने भए पनि क्लिबरको उद्धार त्यसपछि सम्भव भएको हो। प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको छ र राजधानी काराकासमा उपचार भइरहेको जनाइएको छ। गत साता ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पमा परी हालसम्म १,९४३ जनाको मृत्यु, १० हजारभन्दा बढी घाइते तथा हजारौँ बेपत्ता भएका छन्। प्रारम्भिक मूल्याङ्कनअनुसार ५८ हजार ८७० भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा खाद्यान्न, बासस्थान र स्वास्थ्य सेवाको गम्भीर अभाव रहेको चेतावनी दिँदै ३० हजार प्रभावितलाई राहत, संरक्षण र अस्थायी आवासका लागि प्रारम्भिक चरणमै १ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कमजोर खोप कभरेजका कारण दादुरा र भ्यागुते रोगजस्ता खोपबाट रोक्न सकिने रोग फैलिने जोखिम बढेको चेतावनी दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार