विद्यालय तहको पाठ्यक्रम सुधारका लागि ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने

विद्यालय तहको पाठ्यक्रम सुधारका लागि ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम सुधारका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरवलोकन कार्यदलले देशभरका करिब ५० हजार विज्ञ तथा सरोकारवालासँग सुझाव सङ्कलन गर्ने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को पाँचवर्षे चक्र पूरा भएपछि पुनरवलोकन प्रक्रिया अघि बढाइएको कार्यदलका संयोजक डा. बालचन्द्र लुइँटेलले जानकारी दिए। उनका अनुसार सक्षमता, प्राविधिक तथा व्यावसायिक शिक्षा, स्थानीय ज्ञान, मानव मूल्य तथा नैतिक शिक्षा, कला, खेल, स्वास्थ्य, समावेशीकरण, विपद् व्यवस्थापन, मातृभाषा शिक्षण, मूल्याङ्कन प्रणाली र पाठ्यक्रम कार्यान्वयनलगायत १२ विषयगत क्षेत्रमा सुझाव सङ्कलन गरी नौ महिनाभित्र नयाँ पाठ्यक्रमको स्वरूप तयार गरिनेछ। कार्यक्रममा शिक्षाविद्हरूले विद्यार्थीलाई स्वतन्त्र, सृजनशील र समावेशी बनाउने पाठ्यक्रम आवश्यक रहेको, जातीय विभेद झल्किने सामग्री हटाउनुपर्ने, पाठ्यक्रम कार्यान्वयनका चुनौती समाधान गर्नुपर्ने तथा शिक्षा प्रणालीको समग्र सुधारमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार