मन्त्री पोखरेलका १०० दिन: ४२ काम सार्वजनिक, नतिजा प्रकाशनदेखि विश्वविद्यालय सुधारसम्मका पहल

मन्त्री पोखरेलका १०० दिन: ४२ काम सार्वजनिक, नतिजा प्रकाशनदेखि विश्वविद्यालय सुधारसम्मका पहल

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सम्पन्न भएका ४२ काम सार्वजनिक गरेका छन्। मन्त्रालयले २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म भएका प्रगतिहरू सार्वजनिक गर्दै एसईईको नतिजा एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयका नतिजा ६५ दिनभित्र प्रकाशन गर्ने प्रणाली सुरु गरिएको जनाएको छ। बिदाको दिनमा समेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरण सेवा सञ्चालनमा ल्याइएको तथा जेन्जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकका लागि रोजगारी, सीप विकास, मनोसामाजिक परामर्श र पुनर्स्थापना कार्यक्रम सुरु गरिएको उल्लेख गरिएको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति सम्बन्धी प्रतिवेदन कार्यान्वयन सुरु गरिएको, विभिन्न विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप न्यूनीकरण गर्न विश्वविद्यालयहरूमा विद्यार्थी संगठनले प्रयोग गर्ने गरी भवन तथा जमिन उपलब्ध नगराउने र दलसम्बन्धी भौतिक संकेत हटाउने नीति लागू गरिएको छ। साथै, स्वीकृत शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन, सबै विश्वविद्यालय तथा स्वायत्त निकायमा स्वच्छ र प्रतिस्पर्धात्मक आधारमा पदाधिकारी छनोट तथा त्रिभुवन विश्वविद्यालयका अध्ययन बिदामा गएर तोकिएको समयमा नफर्किएका करिब ४०० प्राध्यापकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। यसअन्तर्गत करिब २ अर्ब रुपैयाँ राजस्व फिर्ता हुनुपर्नेमा हालसम्म १३ करोड रुपैयाँ असुल भइसकेको प्रगति विवरणमा उल्लेख छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार