काठमाडौं । कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले कर्णाली राजमार्गमा भएको दुर्घटनापछि समयमै उद्धार हुन नसकेको उल्लेख गर्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे।
बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्धार हुन नसकेको र घटना भएको लामो समय बितिसक्दा पनि राज्यका तर्फबाट आधिकारिक तथ्य र विवरण सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गरिन्। उनले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।
यस्तै, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मन्त्रीहरू हेलिकप्टरमा यात्रा गर्ने तर कर्णालीका नागरिक विपद्मा पर्दा राज्य प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाए। उनले कर्णाली नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजी तथा उद्धारमा भएको ढिलाइको सत्यतथ्य सार्वजनिक गर्न र सरकारलाई आवश्यक रुलिङ गर्न माग गर्दै दुर्गम क्षेत्रका नागरिकप्रति सरकारले गम्भीरता देखाउनुपर्ने धारणा राखे।