काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले सुकुम्बासीको व्यवस्थापन प्रभावकारी ढंगले हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै एमालेकी सांसद एशुदा कुमारी बराल ले सुकुम्बासीलाई २५ हजार रुपैयाँ दिएर आफैं व्यवस्थापन गर्न भन्नु व्यवहारिक समाधान नभएको बताइन्। उनले सुकुम्बासी पनि नागरिक भएकाले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै यस्तो कदमले मानव अधिकारको हनन हुन सक्ने चेतावनी दिइन्। बरालले गरिबका आँसु निकै महँगो पर्ने भन्दै सुकुम्बासीको उचित व्यवस्थापनका लागि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन्।