काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार पनि १५ अर्ब रुपैयाँ बराबरको १ वर्षे ऋणपत्र जारी गर्ने भएको छ। अघिल्लो दिन पनि सोही रकम बराबरको ऋणपत्र जारी गरिएको थियो। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज’ नाम दिइएको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन्। न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र बाँडफाँट गरिनेछ। २०८४ असार ३० गते साँवा भुक्तानी हुने यस ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोडको गुणकमा कुल जारी रकमसम्म बोलकबोल गर्न सक्नेछन्। चालु आर्थिक वर्षको अन्तिम चरणमा राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापनका लागि लगातार ऋणपत्र जारी गरिरहेको छ।