सरकारप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घद्वारा भदौदेखि आन्दोलनको घोषणा

सरकारप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घद्वारा भदौदेखि आन्दोलनको घोषणा

काठमाडौँ। नेपाल शिक्षक महासङ्घले आफ्ना मागप्रति सरकार अनुदार बनेको आरोप लगाउँदै भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ। महासङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकपछि अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको ठोस मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालय बैठकलाई प्रत्यायोजन गरिएको जानकारी दिए। महासङ्घले सरकारसँग भएका सहमतिअनुसार अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, साउन महिनादेखि शिक्षकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, अव्यावहारिक सरुवा व्यवस्था हटाउनुपर्ने तथा अस्थायी, राहत, ज्यालादारी, संस्थागत विद्यालय, ईसीडी शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम तलब सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ। साथै, बजेट वक्तव्यमा प्रोत्साहन भत्ताको व्यवस्था उल्लेख भए पनि महालेखा नियन्त्रक कार्यालयको परिपत्र र कार्यक्रम कार्यान्वयन पुस्तिकाका कारण अन्योल सिर्जना भएको भन्दै शिक्षा मन्त्रालयसँग तत्काल आधिकारिक स्पष्टिकरण र तलबमान जारी गर्न पनि महासङ्घले माग गरेको छ। आन्दोलनका विस्तृत कार्यक्रम भने छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार