काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै पनि प्रतिकूल परिस्थितिका बाबजुद मंसिरअघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत मत ल्याएर सभापति बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ। ५१ प्रतिशत होइन, अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउन प्रतिबद्ध छौँ।’ शर्माले असन्तुष्ट समूहले गरेको भेलाप्रति पनि टिप्पणी गर्दै त्यसलाई दोस्रो ‘निन्दा सम्मेलन’ जस्तो भएको बताए। यसअघि बीपी स्मृति दिवसका अवसरमा संस्थापन पक्षमाथि असन्तुष्ट समूहबाट विभिन्न टिप्पणी भएको स्मरण गर्दै उनले निरन्तर आरोप–प्रत्यारोप र आलोचनाको सम्मेलनले पार्टीलाई बलियो बनाउन सहयोग नगर्ने धारणा राखे।