काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले वैदेशिक रोजगारी तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रवासमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन आवश्यक कानुनी तथा प्राविधिक तयारी तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।
महामन्त्री आचार्यले विदेशमा रहेका नेपालीको हकमा ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्था अन्त्य हुनुपर्ने रास्वपाको नीति रहेको बताए। उनले संसारभर रहेका नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था गर्न सभामुखमार्फत सरकारसँग आग्रह गरे। “आगामी स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीले भोट हाल्न पाउनुपर्छ,” उनले भने।
आचार्यका अनुसार रास्वपाले विश्वभर रहेका पार्टी कार्यकर्ताबाट उम्मेदवार चयन गर्ने प्रक्रिया ‘क्यान्डिडेट क्लब’ मार्फत सुरु गरिसकेको छ। उनले विदेशमा रहेका नेपालीलाई राजनीतिक प्रक्रियामा सहभागी गराउन मतदानको अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको बताए। हाल करिब ४० लाख नेपाली वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेको उनको भनाइ छ।