काठमाडौँ ।सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते तथा राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन्। बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ भने कृषि तथा प्राकृतिक स्रोत समितिले जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गर्नेछ। त्यस्तै, पूर्वाधार विकास समितिले बागमती ब्युटिफिकेशन आयोजनाबारे छलफल गर्नेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची रहेको छ। सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका विषयमा छलफल गर्नेछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमाथि दफावार छलफल जारी रहनेछ, जसमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ। सोही समयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गर्नेछ भने राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्नेछ। अपराह्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिले विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार