काठमाडौं । सरकारले भारतसँगको सीमा क्षेत्रमा कर संकलनका लागि गरेको कडाइप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आफ्नै कार्यकर्ता आक्रोशित बनेका छन्। बिहीबार साँझ आयोजित ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मधेशका एक कार्यकर्ताले भारतबाट सामान्य किनमेल गरेर फर्कने नेपाली नागरिकमाथि प्रहरी प्रशासनले गरेको कडाइप्रति आपत्ति जनाएका हुन्।
उनले अर्थमन्त्री वाग्लेको अर्थनीति नेपालको आवश्यकता र भूगोलअनुसार नभएको आरोप लगाउँदै प्रश्न गरे, ‘हजुरले जुन अर्थनीति बनाउनुभएको छ, यो नेपालको हो कि अमेरिकाको ? यो हिमाल, पहाड, तराईको हो कि अमेरिकाको हो ?’ खुला सीमा र भारतसँगको सामाजिक तथा पारिवारिक सम्बन्धलाई ध्यानमा नराखी करका नाममा गरिएको कडाइले मधेशका २२ जिल्लामा रास्वपाको प्रभावसमेत कमजोर बन्न सक्ने उनले बताए।
सीमावर्ती क्षेत्रमा दैनिक ठूलो संख्यामा मानिस नेपाल–भारत आवतजावत गर्ने उल्लेख गर्दै उनले सामान्य सामान खरिद गरेर फर्कने नागरिकलाई समेत प्रहरी प्रशासनले दुःख दिने गरेको गुनासो गरे। ‘एक किलो चिनीका लागि सीमावासीले प्रहरी र प्रशासनको कुटाइ खाइरहेका छन्, यो हजुरको नीतिको कारणले हो,’ उनले अर्थमन्त्रीलाई सुनाए।
कार्यकर्ताले अर्थमन्त्री वाग्ले काठमाडौं केन्द्रित मात्र नभई हिमाल, पहाड र तराई सबै क्षेत्रको अर्थमन्त्री बन्नुपर्ने सुझावसमेत दिए। कार्यक्रममा महामन्त्री विपिन आचार्य र सहमहामन्त्री असीम शाहलगायतको उपस्थिति थियो। सीमा क्षेत्रमा प्रहरी प्रशासनको व्यवहार अव्यावहारिक भएको गुनासो यसअघि पनि रास्वपाका नेता तथा कार्यकर्ताले उठाउँदै आएका छन्। पार्टी सभापति रवि लामिछानेसँगको छलफलमा मधेशका सांसदहरूले समेत सीमा क्षेत्रमा नागरिकलाई परेको समस्याबारे ध्यानाकर्षण गराएका थिए।