वासिङ्टन डिसी । इरानसँगको युद्धप्रति अमेरिकी जनताको समर्थन सुरुवाती दिनयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ। सोमबार सार्वजनिक रोयटर्स/इप्सोसको पछिल्लो सर्भेअनुसार इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको समर्थन गर्ने अमेरिकी नागरिकको संख्या घटेर ३१ प्रतिशतमा सीमित भएको छ। मार्चमा ३७ प्रतिशत र यही महिनाको सुरुवातमा ३४ प्रतिशतले युद्धको समर्थन गरेका थिए। विशेषगरी सत्तारूढ रिपब्लिकन पार्टीका समर्थकहरूमा समर्थन घटेको देखिएको छ। मार्चमा ७७ प्रतिशत रिपब्लिकनले युद्धको समर्थन गरेकामा अहिले यो संख्या ६९ प्रतिशतमा झरेको छ।
युद्धसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता पनि घट्दो क्रममा रहेको सर्भेले देखाएको छ। लगातार दोस्रो सर्भेमा ३३ प्रतिशत उत्तरदाताले मात्र ह्वाइट हाउसमा ट्रम्पको कार्यसम्पादनप्रति समर्थन जनाएका छन्। रोयटर्स/इप्सोसले ट्रम्पका दुवै कार्यकालमा गरेको सर्भेमध्ये यो उनको लोकप्रियताको सबैभन्दा न्यून स्तर हो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धलाई ट्रम्पले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न आवश्यक कदमका रूपमा प्रस्तुत गर्दै आएका छन्।
यद्यपि पछिल्ला महिनामा द्वन्द्व केही शान्त देखिए पनि इरानले क्षेत्रीय तेल निर्यातमा नाकाबन्दी जारी राख्दा अमेरिकामा पेट्रोलको मूल्य कीर्तिमानी स्तरनजिक पुगेको छ। ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब थप बढाउने तयारी गरिरहेको छ। अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले इरानसँग व्यापार गर्ने देशहरूमाथि प्रतिबन्ध विस्तार हुन सक्ने बताएका छन्। तर तत्काल कुनै ठोस कारबाही वा जरिवाना घोषणा गरिएको छैन।
सर्भेअनुसार ८३ प्रतिशत अमेरिकी नागरिकले इरानसँगको युद्ध लामो समयसम्म चल्ने अनुमान गरेका छन्, जुन यसअघिको ८० प्रतिशतभन्दा बढी हो। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले महँगी नियन्त्रण गर्ने र अमेरिकालाई लामो सैन्य द्वन्द्वमा नफसाउने प्रतिबद्धता जनाएका थिए। तर युद्ध सुरु भएको करिब छ महिनामा पेट्रोलको मूल्य प्रतिग्यालन एक डलरभन्दा बढीले बढेपछि आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूलाई चुनौती बढेको देखिएको छ।
सर्भेमा आजै संसद्को निर्वाचन भए कसलाई मतदान गर्ने भन्ने प्रश्नमा स्वतन्त्र मतदाताहरूले डेमोक्र्याटलाई बढी रोजेका छन्। स्वतन्त्र मतदातामध्ये ३३ प्रतिशतले डेमोक्र्याट र १९ प्रतिशतले रिपब्लिकनलाई समर्थन गर्ने बताएका छन्। देशभरका १,२१५ अमेरिकी वयस्कबीच चार दिनसम्म गरिएको सर्भेको त्रुटि सीमा ३ प्रतिशत विन्दु रहेको छ।