काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटिरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा विपत्तिको सामना भइरहेको जानकारी दिएका छन्।
उद्धारका लागि बिहान ६ः३० बजेदेखि नै उडान सुरु भइसकेको र १५ भन्दा बढी उडान सम्पन्न भएको प्रधानमन्त्री शाहले बताएका छन्। थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्। नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९५ नेपाली र २१ भारतीय नागरिक रहेका छन्। यसैगरी, टनेलबाट सात जना नेपाली नागरिकको समेत सफलतापूर्वक उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री द्रुत रूपमा पुर्याउने काम भइरहेको छ। राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिन पठाइँदैछ। प्रभावित क्षेत्रमा सम्पर्क सहज बनाउन छिट्टै मोबाइल नेटवर्क तथा चार्जिङको अस्थायी व्यवस्था गरिने प्रधानमन्त्रीले बताएका छन्।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था मिलाइएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोन सर्भेमार्फत प्रभावित क्षेत्रको जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको छ। हेलिकोप्टरमार्फत उद्धार गर्दा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने बताइएको छ।
राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएकाले धैर्य र संयम राखी उद्धारको प्रतीक्षा गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्। उनले आशा र विश्वासका साथ सबै एकजुट भएर विपत्तिको सामना गर्न तथा एकअर्कालाई सहयोग गर्नसमेत आह्वान गरेका छन्।