विद्वान गुरुङद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

विद्वान गुरुङद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन तथा पार्टीलाई थप सशक्त र गतिशील बनाउने संकल्पसहित नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई थप गतिशील बनाउन, देशव्यापी रूपमा पार्टी संगठनलाई सुदृढ गर्न तथा सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए। १५औँ महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै उनले देशलाई नयाँ गति दिन र कांग्रेसलाई सबल बनाउन तरुण पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा राखे। उनले भने, “अहिले नयाँ नेपाल, नयाँ कांग्रेस र नयाँ उत्साहका साथ नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशन हुँदैछ। देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा संगठित गर्दै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन आजको हाम्रो छलफल महत्वपूर्ण हुनेछ।” आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत साझा निर्णयमा पुग्ने बताउँदै गुरुङले पार्टी सभापति गगन थापाको नेतृत्वमा सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकबाट साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्। साथै, तरुण दलका साथीहरूबीच थप छलफल गरी सक्षम, योग्य र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले यसपटक तरुण दलको प्रतिनिधित्व मात्र नभई सक्षम र ऊर्जावान् नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताए। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न तथा योग्य व्यक्तिहरूलाई मूलधारमा ल्याउन तरुण दलले निर्णायक भूमिका खेल्ने विश्वाससमेत गुरुङले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार