काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आवश्यकता परे युवाहरू आन्दोलनमा सहभागी हुन र जेल जानसमेत तयार हुनुपर्ने धारणा व्यक्त गरे। उनले वर्तमान सरकारले संविधान र राजनीतिक व्यवस्थालाई उल्टाउन सक्ने आरोप लगाउँदै पार्टी, संविधान र प्रजातन्त्रको संरक्षणका लागि नेपाली कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताए। ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र र संविधान जोगाउन भोलि तपाईं–हामीले आन्दोलन गर्न र जेल जानुपर्ने हुनसक्छ, त्यसका लागि तयार हुनुस्। यो सरकारले जतिबेला जे पनि संविधान र व्यवस्था मास्न सक्ने भएकाले तरुण दल सजग भएर बस्नुपर्छ,’ यादवले भने। उनले तरुण दलको संगठनभित्र सुदृढ एकता कायम राख्न आग्रह गर्दै पार्टी र लोकतान्त्रिक व्यवस्थाको रक्षामा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताए। साथै, नेपाली कांग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै यादवले आफ्नो उम्मेदवारीलाई सहयोग गर्न तरुणहरूलाई आग्रह गरे।