त्रिवि सभाको बैठक आज, नीति तथा बजेट मुख्य एजेन्डा

त्रिवि सभाको बैठक आज, नीति तथा बजेट मुख्य एजेन्डा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आज बिहान ९ बजे बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा हुने बैठक सञ्चालन त्रिविका शिक्षाध्यक्ष एवं सभाका सदस्य–सचिव प्रा.डा. अन्जना महर्जन सिंहले गर्नेछिन्। बैठकमा उपकुलपति प्रा.डा. भोला थापाले स्वागत मन्तव्य राख्नेछन् भने सहकुलपति एवं मन्त्री पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकको मुख्य एजेन्डाका रूपमा त्रिविको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने विषय रहेको छ। रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछन्। त्यसैगरी, त्रिविका नियम, विनियम, कार्यविधि, कार्यव्यवस्थापन प्रणाली तथा निर्देशिका अनुमोदनसम्बन्धी प्रस्तावहरू पनि बैठकमा पेस गरिनेछन्।

बैठकमा त्रिवि कार्यकारी परिषद्को सदस्यमा भएको मनोनयन समर्थन तथा पुनरावेदन आयोगका अध्यक्ष र सदस्य मनोनयनसम्बन्धी प्रस्तावमाथि समेत छलफल गरी निर्णय गरिनेछ। साथै, वार्षिक दिवस बैठकअन्तर्गत त्रिविअन्तर्गतका विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीनहरूले सिफारिस गरेका विद्यार्थीहरूलाई उपाधि प्रदान गर्ने र ६४औँ ग्रेस लिस्ट स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ। बैठकको अन्त्यमा शिक्षाध्यक्ष प्रा.डा. अन्जना महर्जन सिंहले कृतज्ञता ज्ञापन गर्नेछिन् भने सहकुलपति एवं मन्त्री पोखरेलको मन्तव्यपछि सभा विसर्जन गरिनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार