काठमाडौं । दसैंका बेला उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका ग्यासको संयुक्त बिक्री तथा साटफेर व्यवस्था बुधबारसम्म मात्रै लागू हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबारदेखि डिलरमार्फत नै नियमित रूपमा ग्यास बिक्री वितरण गरिनेछ। उपत्यकाका ११ बिक्री केन्द्रबाट भइरहेको संयुक्त बिक्री व्यवस्थामा उपभोक्ताको लामो लाइन लाग्न थालेपछि संघले पुरानै प्रणालीमा फर्किने निर्णय गरेको हो। संघले बजारमा ग्यासको अभाव नरहेको र भारतका विभिन्न रिफाइनरीबाट नेपाल आयल निगममार्फत सहज रूपमा ग्यास आयात भइरहेको दाबी गरेको छ। साथै, उपभोक्तालाई बिहीबारदेखि आफ्नो नजिकको डिलरमा गएर ग्यास खरिद गर्न संघले अनुरोध गरेको छ।