काठमाडौँ। दसैँका लागि मासुको माग बढ्दै जाँदा काठमाडौँको कलंकी बजारमा खसीबोका तथा च्याङ्ग्राको मूल्य महँगिएको छ। बाढीपहिरोले सडक सञ्जाल प्रभावित बनाउँदा विभिन्न जिल्लाबाट पशु ढुवानी गर्न कठिन भएको छ, जसको असर बजारको आपूर्तिमा परेको व्यवसायीको भनाइ छ। हाल जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ८५० देखि ८६० रुपैयाँसम्म पुगेको छ भने च्याङ्ग्रा प्रतिकिलो १ हजार २५० देखि १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। खसीको तयारी मासुको मूल्यसमेत प्रतिकिलो १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँ पुगेपछि उपभोक्ताको खर्च बढ्ने देखिएको छ। गत वर्षको तुलनामा मासुको मूल्य उल्लेख्य बढेको अवस्थामा यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि दसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। निजी बजारमा निर्भर हुनुपर्ने उपभोक्ताले अब महँगो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ। बजारमा पशुको आपूर्ति पर्याप्त नबढे दसैँ नजिकिँदै जाँदा मूल्य थप उकालो लाग्न सक्ने व्यवसायीको चिन्ता छ।