• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

राष्ट्रिय अस्मिता रक्षाका लागि समाजवादी आन्दोलन आवश्यक : देव गुरुङ

राष्ट्रिय अस्मिता रक्षाका लागि समाजवादी आन्दोलन आवश्यक : देव गुरुङ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नवउदारवादी आर्थिक प्रणालीका कारण नेपालको मौलिक पहिचान, भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय अस्मिता र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए। मुलुकमा भइरहेको प्रतिक्रान्तिको प्रतिरोध नगरिए नेपालको राष्ट्रिय पहिचान र अस्तित्व समाप्त हुने खतरा रहेको उनको दाबी थियो।

नेता गुरुङले नेपालको वर्तमान अवस्थालाई नवऔपनिवेशिकतासँग जोड्दै विश्वव्यापी रूपमा पश्चिमा एकध्रुवीय साम्राज्यवादी प्रभुत्व विस्तार भइरहेको टिप्पणी गरे। वित्तीय एकाधिकार पुँजीवाद र त्यसका दलाल एजेन्सीहरूको सत्तालाई विस्थापित गरी राष्ट्रको रक्षा गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने उनले बताए। राष्ट्रिय स्वाधीनताको मुद्दामा कम्युनिस्ट, देशभक्त, लोकतन्त्रप्रेमी शक्ति र आम नेपाली जनताबीच साझा राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गर्दै उनले बृहत्तर ‘राष्ट्र बचाउ अभियान’ सञ्चालन गर्नुपर्ने धारणा राखे।

उनले दलित, महिला, जनजाति, मुस्लिम र मधेसीलगायत उत्पीडित समुदायका पहिचानसम्बन्धी मुद्दालाई राष्ट्रिय मुक्ति आन्दोलनसँग जोडेर अघि बढाउनुपर्ने बताए। पहिचानका आन्दोलनलाई एकअर्काविरुद्ध उभ्याउँदा ती थप कमजोर हुने उनको तर्क थियो। आन्तरिक राजनीतिक शक्ति तथा दलहरूबीचको द्वन्द्व र विभाजनले बाह्य शक्तिको प्रभाव विस्तार गर्ने भन्दै गुरुङले राष्ट्रिय अस्मिता, स्वाधीनता र मौलिक पहिचानको रक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार